निराजन घिमिरे- चितवनको रत्ननगर १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका विभिन्न टोलबिकास संस्थासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको आफ्नै सभाहलमा रत्ननगर १४, १५ र १६ का विभिन्न ५१ ओटा टोलविकास संस्थाका अध्यक्षहरुलाई बोलाएर स्वास्थ्य र सरसफाई सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
संस्थाको गत कार्तिकमा सम्पन्न साधारण सभाले विभिन्न टोलविकास संस्था संगको सहकार्यमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्नको लागी चार लाख रुपैयाँ बजेटको व्यवस्था गरेको र उक्त कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको संस्थाका अध्यक्ष आशिक तामांगले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष तामांगले पिठुवा-माधवपुर क्षेत्रका सामाजिक संस्थाले आयोजना गर्ने विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बजारमा पाईने नाम मात्रका गुणस्तरहिन मिनिरल वाटर प्रयोग भईरहेको र त्यस्तो पानी प्रयोगमा कमि ल्याउने उद्देश्यले संस्थाले बोतल वितरण गर्नको लागी दुई लाख रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । वितरण गरिएका बोतलमा पिठुवा खानेपानीकै पानी भरेर प्रयोग गर्न प्रात्साहित गर्ने उंहाले बताउनुभयो ।
अन्तरक्रियामा सहभागीहरुले टोलविकासहरु संगको सहकार्यमा डस्टबिन वितरण कार्यक्रम, फोहोर वर्गीकरण गरि कुहिने फोहोर बाट कम्पोष्ट मल बनाउने तालिम, सरसफाई सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, सडकनाटक लगायत कार्यक्रम गर्न सकिने सुझाव दिएका छन् ।

संस्थाका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मुक्तिप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका सचिव बासु लामिछानेले संचालन गरेका थिए । पिठुवा खानेपानीले दुई ओटा ओभरहेड ट्यांकी मार्फत रत्ननगर १४, १५ र १६ का ४ हजार ५६ घरधुरीलाइ मासिक ७५ हजार युनिट खानेपानी वितरण गर्दै आएको छ ।


