मलेशियामा एकदिन बढी बिदा बस्दा कम्पनीले निकालिदिएका होमबहादुर पांच दिन देखि अलपत्र

मलेशियामा एकदिन बढी बिदा बस्दा कम्पनीले निकालिदिएका होमबहादुर पांच दिन देखि अलपत्र

काठमाण्डौ – स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र पर्नुभएको छ । उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर कामबाट निकालेको होमबहादुरका भाइ रणबहादुर क्षेत्रीले उज्यालोलाई बताउनुभयो ।

उहाँका अनुसार होमबहादुर कम्पनीबाट दुई दिनको बिदा मागेर घुम्न जानुभएको थियो । तर कारणबस तीन दिन बिदा बसेकाले कम्पनीले निकालेको हो । ‘उहाँले पहिलेका कम्पनी प्रमुखसँग बिदा लिएर घुम्न जानुभएको रहेछ तर अहिले कम्पनीको जिम्मेवारी सम्हालेको उनको छोराले म मालिक हो मसँग बिदा माग्ने हो भन्दै तीन दिनसम्म बिदा बसेको बहाना बनाएर कामबाट निकालेको हो’!

आफ्नो दाइको भनाइलाई उद्धृत गर्दै रणबहादुरले भन्नुभयो, ‘पासपोर्ट, कागजात सबै कम्पनीसँगै छ, कम्पनीले बस्नको लागि दिएको कोठामा पनि ताल्चा लगाएपछि सडकमै बस्नुपरेको छ ।’ कम्पनीले कामबाट निकालेपछि अहिले ४५ वर्षीय होमबहादुर मलेसियाकाे सेलेङ्गार क्षेत्रमा अलपत्र पर्नुभएको छ । उहाँले यति लामाे समयसम्म त्याे कम्पनीमा काम गरेकाे ‘इन्सेन्टिभ’ पनि पाउनुभएकाे छैन ।

कोरोनाका कारण मलेसियामा स्वास्थ्यका मापदण्डमा कडाइ गरिएको छ । साथीहरुको कोठामा पनि जान सक्नुभएको छैन । बाहिरको मान्छेलाई आफ्नो कोठामा ल्याउन मिल्दैन । आफूसँग कागजात र पैसा नहुँदा दूतावाससम्म पनि जान सक्नुभएकाे छैन । आफ्नाे उद्धार गरि दिन हाेमबहादुरले आग्रह गर्नुभएकाे छ । उज्यालो अनलाईन बाट 

https://ujyaalonepalnews.com/archives/17114

Previous articleभ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ, राप्रपामा ठाउँ छैन : लिङ्देन
Next articleएकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।