निराजन घिमिरे, पुष २४- चितवनको रत्ननगर १६ मा रहेको एकिकृत कृषक बचत तथा ऋण सहकारी संस्थाको दशौँ साधारणसभा तथा चौथो अधिवेसन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सभा सदस्य कञ्चन खनाल उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्त्री खनालले पानसमा बत्ति बालेर गर्नुभएको थियो।

कार्यक्रममा अतिथिको रुपमा भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष युवराज थापा, वडा सदस्य तथा नगरकार्यपालिका सदस्य रिता वि.क, वडा सदस्यहरु पवित्रा गुरुङ, नेत्र रायमाझी, विष्णुप्रसाद रिमाल, भद्रकाली टोल विकास संस्थाका अध्यक्ष जगन्नाथ नेपाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि समेत रहेकी प्रदेश सभा सदस्य कन्चन खनालले सहकारीमा महिलाहरुको उपस्थिति अत्यन्त उत्साहजनक देखिएको भन्दै खुशी व्यक्त गर्नुभयो । नयाँ बन्ने कार्यसमितिमा महिलाहरुको सहभागीतालाई अझ धेरै बनाउन उँहाको सुझाव थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनालले सानो सानो रकम बचत गरेर स्थापना गरिएको संस्थामा हाल जम्मा भएको करोडौं रकमको अत्यन्तै हिफाजत साथ बुद्धिमत्तापूर्ण तरिकाले चलाउन सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउन सुझाव दिनुभयो । घरको मुली गतिलो नभए घर बिग्रने उँहाको भनाई छ ।

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक अनुप बुढाथोकीले संस्थाको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वार्षिक प्रगती प्रतिवेदन र आगामी वर्षको नीति तथा कार्यक्रम संस्थाका सचिव रामहरी पनेरुले प्रस्तुत गर्नुभएको थियो। संस्थाको नीति तथा कार्यक्रममा अधिकतम ३० लाख सम्म ऋण लगानी गर्ने, शेयर सदस्यका एकाघरका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने, संस्थाको कार्य क्षेत्र विस्तार गर्ने, शेयर सदस्यको निधन भएको अवस्थामा परिवारलाई २५ हजार अनुदान उपलब्ध गराउने, शेयर सदस्य तथा शेयर सदस्यका एकाघरको सदस्य आकस्मिक बिरामी भई मेजर अपरेसन गर्नुपर्ने अवस्था साथै गम्भीर प्रकृतिको रोग लागेको अवस्थामा एक महिनाको लागी रु ५० हजार ऋण स्वरूप बिना ब्याजमा उपलब्ध गराउने लागायत कार्यक्रम समेटिएका छन् ।

कार्यक्रममा संस्थाका पुर्व व्यवस्थापक शिव पुडासैनीलाई संस्थाको विकासमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान समेत गरिएको छ । त्यस्तै भर्खरै मात्र अपाङ्गता भएर पनि मुखले कलम च्यापेर लेख्दै कक्षा १२ उतिर्ण गरेका रत्ननगर १६ का भरत गुरुङलाई पनि सम्मान गरिएको छ । संस्थाको अधिवेसनले अध्यक्ष पदमा पुन: विष्णुप्रसाद अर्याललाई निर्विरोध चयन गरेको छ । संस्थाको स्थापना काल देखिनै अध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित हुँदै आउनुभएको छ । त्यस्तै संस्थाको उपाध्यक्ष पदमा शिवराम नेपाल, सचिवमा शिव प्रसाद पुडासैनी, सह-सचिवमा ईन्दिरा तिमल्सिना, कोषाध्यक्षमा सिता नेपाललाई निर्विरोध निर्वाचित गरिएको निर्वाचन समिति संयोजक पुरुषोत्तम लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै संचालक समितिको सदस्यहरुमा प्रेम कुमारी सारु, सन्तोषी घिमिरे, वुद्धिमान गुरुङ, भरत ढकाल, मनमाया मगर र चन्द्रबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै संस्थाको लेखा समितिमा अनुप बुढाथोकी, रुपेश भण्डारी, राजु बुढाथोकी चयन हुनुभएको छ । २०५५ सालमा मासिक रु १० बचत उठाउने गरि स्थापना गरिएको भद्रकाली कृषक समुह समय क्रम अनुसार चितवन कृषक सामुदायिक संस्था हुँदै २०६८ सालमा बचत तथा ऋण सहकारीको रुपमा सहकारी विभागमा दर्ता भई संचालन हुँदै आएको छ । संस्थामा हाल महिला २२५ र पुरुष २२६ गरि जम्मा ४५१ जना शेयर सदस्यहरु रहेका छन् । त्यस्तै संस्थामा हाल व्यवस्थापक र सहायक व्यवस्थापक गरि २ जना कर्मचारी कार्यरत छन् ।

रत्ननगर १६ कै भद्रकाली मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संस्थाका लेखा समिति संयोजक अनुप बुढाथोकीले संचालन गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/17119


