नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त जानकारी दिनुभएको हो । साथै उहाँले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभयो ।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उहाँले बताउनुभयो । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गर्नुभयो ।

आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उहाँले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताउनुभयो ।

प्रजातन्त्र, मानवअधिकारको संरक्षण र सुशासन कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अभिभारा वर्तमान सरकारका सामु रहेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधान जारी गरेपछि तीनवटै तहका निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरि एक वर्षभन्दा कम समयमा प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ ।”-

https://ujyaalonepalnews.com/archives/18294

Previous articleसौराहामा भुपुसैनिकहरुको भेटघाट कार्यक्रम सम्पन्न
Next articleजनकपुर रेल सेवा उद्घाटनको तयारी पूरा, आज उदघाटन हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।