जहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल वायुसेवा निगमलाई जहाज र उडानको सङ्ख्या वृद्धि गर्न आग्रह गरेको छ ।

नाट्टाले आज निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो ।

file photo

मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि वायुसेवा निगमसँग भएको जहाज अत्यन्त न्यून भएकाले जहाजको सङ्ख्या वृद्धि गरी थप उडान गर्न सके नेपालको पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुने नाट्टाले जनाएको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले नेपालका दुर्गम तथा पहाडी क्षेत्रमा उडान वृद्धि गर्न मौसम र भूगोल सुहाउँदा साना जहाज थपेर सेवा विस्तार गर्न सकेमा विदेशी तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

यस्तै, विदेशबाट टिकट जारी हुँदा विदेशी एजेन्सीलाई दिएको एजेन्सी कमिसन नेपालबाट टिकट बिक्री गर्ने एजेन्सीलाई पनि दिनुपर्ने, कोभिडको समयमा एजेन्सीबाट पहिल्यै दिएको रकमको ब्याज फिर्ता गर्नुपर्ने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्य स्थलमा आन्तरिक उडान थप गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ ।

नाट्टाले युरोप, अमेरिका लगायत विभिन्न देशमा उडान भर्नका लागि हालसम्म पनि नेपाल वायुसेवा निगम आइकाओको कालो सूचीबाट हटिनसकेकाले नेपाल वायुसेवा निगमले हाल गरिरहेको प्रयासलाई थप प्रभावकारी बनाई सरोकारवालासँगको संयुक्त प्रयासबाट आइकाओको सूचीबाट हट्न आवश्यक कदम अगाडि बढाउन अनुरोध समेत गरेको छ ।
रासस

https://ujyaalonepalnews.com/archives/19911

Previous articleनिक्षेप सङ्कलनमा सामान्य सुधार
Next articleराष्ट्रपति भण्डारीबाट सीता जयन्तीका अवसरमा शुभकामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।