छाडा पशुचौपाया नियन्त्रण गर्ने नाममा रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अमानवीय हर्कत

छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको छ। डोरीले गाई-गोरूलाई बाँधेर गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको हो।

छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो। सोही क्रममा सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ।

छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन्। स्थानीय युवाहरुले बुधबार साँझ नगरपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए।

भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्मम यातना दिएको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाउने बताए। भैरहवाका समाजसेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नुपर्ने भए पनि नियन्त्रणको तरिका गलत भएको बताए।

https://ujyaalonepalnews.com/archives/25686

Previous articleचितवनमा सौन्दर्य व्यवसायीहरुको लागि चारदिने नि:शुल्क वर्कसप सम्पन्न
Next articleचितवनमा मृतकको हातबाट ब्रासलेट चोरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।