१६ जेठ, काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य सुरु गरेको थियो। जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिए ।

हराइरहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उद्धारका लागि घटना स्थलमा पुगेको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिए । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेली घटना स्थलतर्फ प्रस्थान गरेको प्रशासनले बताएको छ । जहाजमा रहेका व्यक्तिको अवस्थाको बारेमा भने अहिलेसम्म जानकारी आइसकेको छैन


https://ujyaalonepalnews.com/archives/20882


