बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको १०औँ अधिवेशनको बैठकमा प्रस्तुत गर्नुभएको हो ।   

नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिइएको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेको हो । 

सरकारले प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन विकाससँगै अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ । 

त्यस्तै, अहिले स्थायी राजधानी बनाइएको क्षेत्रमा नयाँ नगरपालिका बनाएर राजधानीको व्यवस्थापन गरिने जनाइएको छ । 

प्रदेशको राजधानी व्यवस्थापन बाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख शेरचनले बताउनुभएको छ । 

यसैगरी, नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशको महत्त्वपूर्ण योजनाको रुपमा अघि बढाइने प्रदेश सरकारको कार्यक्रममा उल्लेख छ ।

प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई लुम्बिनी सरकारले प्रदेश गौरवको आयोजनाको घोषणा गरेको छ । नीति कार्यक्रममार्फत प्रदेश सरकारले स्थायी राजधानी तोकिएको स्थान राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरेको हो ।

राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने राजधानी निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ ।  राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने र राजधानी व्यवस्थापनको लागि सङ्घीय सरकार र स्थानीय तहसँग निरन्तर समन्वय गरिने कार्यक्रममा उल्लेख छ ।

कार्यक्रममा प्रदेश सभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने पनि बताइएको छ । राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ ।

यसैगरी, कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चित प्रदेश, लुम्बिनी र प्राप्ति प्रादेशिक अस्पताललाई गौरवका आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीटी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ  । त्यस्तै क्यान्सर तथा मुटु रोगीलाई २ लाख दिइने नयाँ योजनामा समेटिएको छ ।

नीति तथा कार्यक्रममा छोरी शिक्षा कार्यक्रम, कृषिको आधुनिकीकरण र किसानको उत्पादनको बिक्री ग्यारेन्टीको योजना, रुपन्देहीको मोतीपुर बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणमा पहल गरिने, बुद्ध जन्मस्थलमा पर्यटक बढाउन वृहत् बुद्ध सर्किटको योजना बनाइने, बसाइसराइलाई निरुत्साहित गर्न योजना बनाइने र प्राविधिक शिक्षालाई प्राथमिकता दिइने, प्रदेश विश्वविद्यालयलाई प्राथमिकता साथ निर्माण गरिने, रुपन्देहीको मर्चवार, बर्दियाको गेरुवा र प्युठानमा प्राविधिक शिक्षालय बनाइने, एक स्थानीय तह एक खेल मैदान तयार गरिने योजना समेटिएको छ । 

https://ujyaalonepalnews.com/archives/21342

Previous articleपुँजी बजार अध्ययनका लागि समिति गठन
Next articleअन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।