झापा । झापाको कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा आगजनी भएको छ । आज बिहान अज्ञात समूहले सहकारीमा आगजनी गरेको हो ।
आगजनीबाट सहकारीको स्टोर रुममा रहेको कागजात जलेर नष्ट भएको छ । लुटपाट गर्ने उद्देश्यले आएका व्यक्तिले लुटपाट गर्न नसकेपछि आगजनी गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । ह्याक्सो प्रयोग गरेर सहकारी फोर्ने प्रयास गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । सिसिटिभीको लाइन काटेर घटना गराएकाले प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।
आगजनी वा आगलागी, के भएको हो ? त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि गत बुधवार साँझ सुरुङ्गाकै शुभेच्छा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । सहकारीको ताला फोरी २ लाख ७० हजार रुपैयाँ चोरी गर्ने झापा गाउँपालिका ६ का ४० वर्षीय भवानीप्रसाद बिक पक्राउ परिसकेका छन् ।
https://ujyaalonepalnews.com/archives/21546


