
तनहुँ । असार लाग्न साथ किसानलाई खेत बारीको कामले व्यस्त बनाउने गर्दछ ।
यसपालि भने धान रोप्न तयार भएका किसान समेत मल अभावका कारण रोकिएका छन् । समयमा मल नपाएपछि रोपाईकन तयारी गर्न नपाएको तनहुँ शुक्लागण्डकी नगरपालिका ९ की प्रेमकुमारी रानाले बताउनुभयो । “प्रत्येक पटक मलकै लागि बजार गएर रित्तै फर्कनुपरेको छ ।” रानाले भन्नुभयो, “सधैँ यस्तै हुन्छ किसानलाई ।”
राना जस्तै जिल्लाभरका किसानले समयमा मल नपाउँदा रोपाइपछि सारेका छन् । सरकारले असार १५ पछि मात्र मल ल्याउन सक्ने जनाएको छ ।
यता कृषि सामाग्री संस्थान तनहुँमा तीन महिना अघिदेखि युरिया मलको अभाव छ । तनहुँ र लमजुङ जिल्लाका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात समेत एक महिना अघिदेखि नै सकिएको कृषि सामाग्री संस्थान तनहुँका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले संस्थानसँग ५० टन पोटासबाहेक अन्य मल छैन । उहाँले मल आवश्यक रहेको भन्दै दैनिक जसो किसानको फोन आउने गरेको बताउनुभयो । “दैनिक २०–२५ किसानको फोन आउन थालेको छ ।” शर्माले भन्नुभयो, “प्राप्त सूचना अनुसार असार १५ सम्म मल आयात हुनसक्छ ।”
अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्याधिक वृद्धि हुँदा किसानसम्म असर देखिएको शर्माले बताउनुभयो । मल आयातमा ठेकेदारी प्रणाली तोडेर सरकारले जिटुजी सम्झौतालाई अघि बढाउन सके मात्र किसानले राहत पाउने उहाँको बुझाई छ ।
यता समयमा मल नपाएपछि कृषि उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । यसअघि मकैका लागि समेत मल नपाएका कारण उत्पादनमा ह्रास आउने अनुमान गरिएको जानकारी दिँदै केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले साउन पहिलो हप्तासम्म मल नआए धानको उत्पादनमा समेत कमी आउने जनाउनुभयो ।
“अहिले अधिकांश हाइब्रिड बिउको प्रयोग हुन्छ ।” तिवारीले भन्नुभयो, “रासायनिक मलको आवश्यकता अनिवार्य हुन्छ तर अभाव छ ।” मल नपाएपछि किसानले बाटो छेकेर मलको व्यवस्था गरिदिन आग्रह गर्ने गरेको उहाँले बताउनुभयो । “अहिले जताततै किसानले मल चाहियो भनेर बाटै छेक्न थाल्नु भएको छ ।” उहाँले भन्नुभयो ।
जिल्लामा एक हजार टन युरिया मल र छ सय टन डिएपी मल यो बेलामा खपत हुने गरेको संस्थानले जानकारी दिएको छ ।
https://ujyaalonepalnews.com/archives/21707


