वालिङ नगरपालिकाको बजेट ९१ करोड ८२ लाख

स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले आ.व.२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । 

बिहीबार १२ औँ नगरसभामा नगर उपप्रमुख कविता कविता गैह्रेले आगामी वर्षका लागी ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । 

बिहीबार नगरसभामा प्रस्तुत बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पुँजीगततर्फ रहेको छ । 

बजेटको आयस्रोतको रुपमा आन्तरिक आय, गत वर्षका अल्या, सङ्घीय सरकारको राजश्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड, समानीकरण अनुदान, समपूरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा  ४ करोड ५१ लाख ७ हजार  रहेका छन् ।

विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार  र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख  ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

त्यसैगरी, क्षेत्रगत रुपमा आर्थिक विकास,पूर्वाधार विकास, वडा स्तरीय विकास, वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाई स्वास्थ्य सेवाको सुनिश्चित गर्न ज्येष्ठ तथा दीर्घ रोगीहरूको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, स्वास्थ्य बीमाको पहुँच विस्तार लगायतमा प्राथमिकता दिइएको छ । 

शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम,शैक्षिक केन्द्रहरूलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नति,प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरूलाई बजेट विनियोजन गरिएको छ ।

कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा सङ्कलन केन्द्रको स्थापना,नस्ल सुधार तथा कृषि बीमा,स्थानीय कृषि उत्पादनको ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/22002

Previous articleबीरगंज महानगरपालिकाको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार 
Next articleसङ्घर्ष समिति र धितोपत्र बोर्डबिच सम्झौता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।