काठमाडौँ महानगरपालिकाले ल्यायो आगामी आवका लागि चालुको भन्दा रु सात अर्ब बढीको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ । 

उक्त बजेट चालु आवको भन्दा रु सात अर्बभन्दा बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गर्नुभएको हो । 

कामपाले चालु आवका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट पारित भएको थियो ।

आगामी आवका लागि पनि चालु आवको जस्तै  पूर्वाधार विकासका लागि सबैभन्दा धरै रु ११ अर्ब आठ करोड बजेट प्रस्ताव गरिएको छ । 

नगरसभामा उपप्रमुख डङ्गोलले कार्यालय खर्चका लागि रु चार अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको जानकारी दिनुभयो । यो कूल बजेटको २० प्रतिशत हो । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कूल बजेटको २।२४ प्रतिशतले हुन आउने रु ५० करोड २१ लाख २४ हजारसमेत विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।

स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चित कोषमा जम्मा हुने रु  २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ । 

यस्तो आम्दानी सञ्चित कोषबाहेक रु तीन अर्ब पाँच करोड एक लाख ४७ हजार रहने छ । संवैधानिक व्यवस्थाअनुसार कामपाले यही असार ८ गते नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहीअनुसार आज बजेट नगरसभामा प्रस्तुत गरेको हो ।

https://ujyaalonepalnews.com/archives/22019

Previous articleकचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख
Next articleतिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४४ करोड ८२ लाख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।