आँगनमा आगो तापिरहेकी चितवनकी भागीरथीको हात्तीले ज्यान लियो

३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

चितवन जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ । यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ । खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ ।

यस्तै उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ । खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदै छ । चौधौँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताए । उनका अनुसार महोत्सवमा झण्डै पाँच सय स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ ।

सात लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिकसम्बन्धी गोष्ठी हुने छन् । विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महोत्सव केन्द्रित हुनेछ सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदै छ । विसं २०७० बाट सुरु भएको खिचरा महोत्सव थारु समुदायको नयाँ वर्षको अवसर पारेर आयोजना गरिँदै आएको छ । माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।

महोत्सव आयोजक मूल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीका अनुसार ‘राष्ट्रिय एकता र विविधता हाम्रो सान । बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको हो । महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभुषाा सहित संस्कृतिक प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने उहाँले जानकारी दिए ।

महोत्सवमा एक सय ३० वटा स्टल रहने छन् । रु ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजार दर्शकले अवलाकन गर्ने अनुमान गरिएको छ । यस्तै खैरहनी महोत्सव तीन सय स्टल रहनेछन् । आयोजक समितिका संयोजक एवं खैरहनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन श्रेष्ठका अनुसार यो दोस्रो संस्करणको महोत्सव हो । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो ।

हरेक दुई दुई वर्षमा गर्ने योजना भए पनि कोभिडका विगतका वर्षहरुमा महोत्सव हुन सकेको थिएन । खिचरा महोत्सव त्यसै समयमा परेकाले एक दुई दिन तलमाथि हुन सक्ने गरी तयारी गरिएको छ । यस वर्ष महोत्सवमा विगतको भन्दा फरक ढङ्गले लदरी खोलालाई थुनेर पानीमा हुने गतिविधि सञ्चालन गरिने उनले बताए ।

महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले महोत्सवमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस्ता महोत्सवले आर्थिक चलायमान गराउँछ ।” उद्योग वाणिज्य सङ्घ चितवका पूर्वअध्यक्ष राजन गौतमले महोत्सव हाटबजारजस्तो हुन नहुने बताउँदै अर्थतन्त्रलाई चलायमान हुनसक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

https://ujyaalonepalnews.com/archives/25402

Previous articleलुम्बिनी प्रदेशसभामा कोहि दाजुभाई, कोहि सम्धीसम्धिनी र कोहि नन्दभाउजु
Next articleके अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएका हुन्? यस्तो छ वास्तविकता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।