रत्ननगरका २५ महिलालाई व्यवसायिक बाख्रापालन तालिम

रत्ननगर- रत्ननगरका २५ जना महिलाहरुलाई व्यवसायिक बाख्रापालन तालिम प्रदान गरिएको छ । युएसएडको आर्थिक सहयोगमा एडवान नेपालले स्थानिय सरकार संगको समन्वयमा सुरु गरेको कोसिस परियोजनाले वडा नं. १६ का २५ जना विपन्न तथा सिमान्तकृत महिलाहरुलाई तालिम प्रदान गरेको हो ।

तालिमको आज एक समारोह बीच समापन गरिएको छ ।  समापन समारोहका प्रमुख अतिथि नगरप्रमुख प्रलाद सापकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरे । कार्यक्रमका अतिथि तथा मेलमिलाप समिति संयोजक दिलबहादुर थापाले, राज्यका विभिन्न निकायहरुको लगानीमा धेरैजनालाई विभिन्न खाले व्यवसायिक तालिम प्रदान गरेको तर तालिममा सिकेको कुरा व्यवहारमा नउतार्दा करौडौ लगानी खेर गईरहेको बताए ।

सहभागीको तर्फबाट मन्तव्य राख्दै बाख्रापालक कृषक मुना सिम्खडाले अहिले सम्म परम्परागत तरिकाले पशुपालन गर्दा व्यवसाय फाईदामा जान नसकेको, तर अब तालिमबाट सिकेका कुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै अर्की सहभागी सर्मिला वि.कले यसअघि वडा कार्यालयबाट अनुदानमा बाख्रा पाएको तर तालिम नपाउँदा पाएको बाख्राको उचित आहार व्यवस्थापन र औषधोपचारमा ज्ञान नहुँदा समस्या रहेको बताईन् ।

कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष हेमराज थापाले महिलाहरुलाई व्यवसायिक बनाउन व्युटिपार्लर, बंगुरपालन, तरकारीखेती, बालविकास लगायतको तालिम संचालन गरिसकेको बताए । विपन्न वर्गलाई आत्मनिर्भर बनाउन वडाले अनुदानमा बाख्रा वितरण गरेको तर बाख्रा लगेर बेचेर खाने प्रवृति बढेको गुनासो गरे ।

कार्यक्रममा वडासदस्यहरु रिता वि.क, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, रत्ननगर पशुपंक्षी शाखा प्रमुख शालिकराम पौडेल, कोसिस परियोजनाका मिल म्यानेजर कमलबाबू परियार लगायतको उपस्थिति थियो । एड्वान कि उपाध्यक्ष तीर्थकुमारी विकको सभापतित्वमा भएको कार्यक्रम परियोजना कि फिल्ड कोर्डिनेटर कमला रानाले संचालन गरेकी थिइन् ।

परियोजनाले चितवन र गोरखाका विभिन्न पालिकाहरुमा विपन्न तथा सिमान्तकृत वर्ग लक्षित कार्यक्रम संचालन गरिरहेको छ । चितवनमा भरतपुरका ५ वटा वडा र रत्ननगरका ६ वटा वडामा कार्यक्रम संचालित छ ।  सोमबार मात्र रत्ननगर १५ मा व्यवसायिक भिंडीकरेला उत्पादन तालिम सुरु गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/25797

Previous articleश्रीमतीको ह’त्या गरेर आ’त्महत्या, चितवनमा घरायसी झगडाले दम्पतीको ज्यान गयो
Next articleनक्कली नोट सहित चितवनमा एक महिला पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।