नक्कली नोट सहित चितवनमा एक महिला पक्राउ

चितवन । चितवनमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीय गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा नक्कली नोट बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताए। तामाङले ति नक्कली नोट जानीजानी चलन चल्ती गर्नका लागी लुकाई छिपाई राखेको प्रहरीको दाबि छ । उनलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको  प्रहरीले बताएको छ ।

सप्तरीमा स्रोत नखुलेको ५२ लाख नगदसहित दुई पक्राउ

सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। बोदेबरसाइन नगरपालिका ५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। बोदेबर्साइन ९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा पक्राउ परेका हुन्।

उनीहरूले बरसाइन बजारमा रहेको कौशल किशोर यादवको घरको कोठा भाडामा लिएका थिए। आइतबार बिहान साढे ११ बजे उक्त कोठामा हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षकको कमान्डमा टोली पनि खटिएको थियो।

सिआइबी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको टोली उक्त कोठामा पुगेको थियो। खोजी गर्नेक्रममा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद भएको डिएसपी सिंहले बताए। यस्तै रामविलास तेलीले बोकेको कालो ब्यागबाट १५ लाख र मायानन्दले बोकेको झोलामा ९ लाख बरामद भएको हो।

प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको डिएसपी नरेशकुमार सिंहले बताए। साथै हिसाब लेखिएको पाँच वटा कापी पनि प्रहरीले बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ।

 

https://ujyaalonepalnews.com/archives/25805

Previous articleरत्ननगरका २५ महिलालाई व्यवसायिक बाख्रापालन तालिम
Next article‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।