भरतपुर । नारायणगढमा रहेको मञ्जुश्री फाइनान्सले एक ऋणीलाई रकम नदिईकन अन्यत्र लगानी गरेको पाइएको छ । आफू फाइनान्सबाट ठगिएको भन्दै कालिका नपा–३ का दलबहादुर मगरले जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार निवेदन दिएका छन् ।
गत पुस ३० गते भरतपुर महानगर–४ मा रहेको मञ्जुश्री फाइनान्सबाट दलबहादुरले एक कट्ठा १५ धुर जमिन धितो राखेर १५ लाख रूपैयाँ कर्जा स्वीकृत गरेका थिए । तर, स्वीकृत गराएको रकम आफूलाई नदिई ऋण लिन सहयोगीको भूमिका निर्वाह गरेका तथा जमानी बसेका छिमेकी चूडामणि महतोलाई फाइनान्सले दिएको उनले थाहा पाएपछि प्रशासनमा निवदेन दिएका हुन् । पुस अन्तिममा स्वीकृत भएपछि एक लाख पाएँ, बाँकी रकम आफ्नै खातामा होला पछि झिकौँला भनेको, तर मलाई थाहै नदिई अन्य व्यक्तिलाई दिइएछ’, दलबहादुरले भने ।

ऋण स्वीकृत भएपछि फाइनान्सकी एक महिला कर्मचारीले तपाईंको खातामा पैसा राख्नका लागि अहिले खाली चेक दिनुस्, हामी पैसा राखिदिन्छौँ भनेकी थिइन् । विश्वास गरेर खाली चेकमा हस्ताक्षर गरेर दिएँ, तर पछि त्यही चेक प्रयोग गरेर खाताबाट नौ लाख ५५ हजार झिकेर चूडामणि महतोलाई दिइएछ’, उनले भने ।
ऋण चाहिएको र सहजै पाइएपछि आफूले विश्वासका आधारमा खाली चेक र केही खाली कागजमा हस्ताक्षर गरेको दलबहादुर बताउँछन् । अन्य खाली कागजमा पनि हस्ताक्षर गरेर छाडेकाले कहाँ कतिखेर फसाउने हुन् भन्ने डर लागेको उनी बताउँछन् । आफ्नो खातामा बाँकी रहेको रकम पनि फाइनान्सले तानिसकेको उनी बताउँछन् । चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले फाइनान्ससँग यस विषयमा बुझेर पीडितलाई न्याय दिलाउने बताए ।
चितवन प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । फाइनान्स शाखा प्रमुख अभय मुडवरी भने हाल बिदामा रहेको अन्य कर्मचारीले बताएका छन् । खाली चेकमा हस्ताक्षर गराउने महिला कर्मचारी पनि बिदामा रहेको पाइएको छ ।
https://ujyaalonepalnews.com/archives/26870


