
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ ।
उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।
चेम्बरले पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रका महिलालाई तालिम प्रदान गर्न लागेको हो ।
छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरूलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिमको उद्घाटन गर्नुहुँदै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताउनुभयो । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरू सुरु भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलाहरूलाई आग्रह गर्नुभयो ।
महिलाहरूद्वारा उत्पादित बस्तुहरूको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ ।
उहाँले भन्नुभयो, “महिला दिदीबहिनी हरूले उत्पादन गरेका बस्तुहरू उत्पादन स्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य बस्तुहरूको प्रशोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ, ।”
आर्थिक क्षेत्रमा महिलाहरूको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका महिलालाई उद्यमशीलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताउनुभयो ।
चेम्बरका उपाध्यक्ष एव महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले महिलाहरूको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्त्वपूर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरूलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा महिला चेम्बरका सचिव लिमा अधिकारीले महिलाहरूलाई कम्तीमा १५ दिनको तालिम दिइने बताउनुभयो । महिलाको आर्थिक सशक्तीकरण गर्नका लागि विभिन्न सीप मूलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/22635


