आफ्नै मृत्युदर्ता गरेर श्रीमतीलाई विधवा भत्ता

रामेछाप: मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन्। मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएको तथ्य फेला परेको छ।

खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्।

तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र सोही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए। तर महतोले निर्मलालाई बनाएको परिचय पत्रमा बुबा आमाको मात्र नाम खुलाएका छन् भने पतिको नाम खुलाएका छैनन्।

मन्थली नगरपालिकाबाट प्राप्त सुचना अनुसार निर्मलाले २०७९ माघ सम्ममा १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी छन्। निर्मलाका पति जीवितै रहेको र उनले पतिको मृत्यु पर्यन्त पाउने भत्ता लिइरहेको तथ्य बाहिरिएको हो।

तत्कालीन वडा सचिव महतोद्वारा हस्ताक्षरित प्रमाणपत्रका आधारमा हेर्दा निर्मलाले मासिक २ हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार ९ सय रुपैयाँ बुझेकी छन्। यो विषयमा मन्थली नगरपालिकासँग सोध्दा विगतमा भत्ता लिएको र पतिको मृत्यु नभएको जानकारी पाएपछि रोकेको जनाएको छ। मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले भने, ‘हामीले सत्यतथ्य बुझेर भत्ता कटौती गरिसकेका छौँ।’

यसबारेमा सम्बन्धित वडा अध्यक्ष कृष्ण गोपाल थापासँग जानकारी लिँदा भत्ता लिएको कुरा सत्य भएको बताएका छन्। आफ्नो कार्यकालभन्दा अगाडिको घटना भएकाले आफू निर्वाचित भए पश्चात् सम्पूर्ण रकम फिर्ता गराएको थापाले बताए।

जीवित मान्छेलाई मृत्युको प्रमाणपत्र दिने, एकल महिलाका नाममा लाभग्राही बनाउने र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गर्नेालाई प्राप्त प्रमाणका आधारमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए। कसैले चलखेल गरेर रकम फिर्ता गराएको भए पनि यो घटनालाई अनुसन्धान गर्ने र संलग्नलाई छानबिनको दायरामा ल्याउने प्रजिअ रेग्मीले बताए। अन्नपूर्ण पोष्टमा खबर छ !

https://ujyaalonepalnews.com/archives/26864

Previous articleविदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै
Next articleमञ्जुश्री फाइनान्सको बदमासी: ऋण लिने एउटा, रकम पाउने अर्कै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।