Home Uncategorized पूर्विचितवनमै अब्बल बन्दै गईरहेको भीमोदय नमुना माविले मनायो ५३औं बार्षिकोत्सव

पूर्विचितवनमै अब्बल बन्दै गईरहेको भीमोदय नमुना माविले मनायो ५३औं बार्षिकोत्सव

रत्ननगर, बैशाख २७ । कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको भीमोदय नमुना मा.वि ले बुधवार स्थापनाको ५३औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सामुदायिक विद्यालय तर्फ पूर्वी चितवनमै अब्बल मानिदै आएको सो विद्यालयले शैक्षिक उपलब्धीको समीक्षा, शैक्षिक विकासका योगदान गर्नेलाई सम्मान तथा सिकाइ उपलब्धी सुधार योजना गरेर बार्षिकोत्सव मनाएको हो । २०२७ सालमा स्थापना भएको सो विद्यालय २०८० सालमा शैक्षिक उपलब्धीलाई थप वृद्धि गर्न सुधार योजना ल्याएको हो ।

विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलले सुधार योजनामा कक्षा कोठामा आधुनिक प्रविधिको प्रयोग, आइसीटीको प्रयोगलाई प्राथमिकता दिने, कम सिकाइ उपलब्धी हासिल गर्ने विद्यार्थीलाई उपचारात्मक शिक्षण गरिने, विद्यार्थीहरुको सिर्जनशिलतामा बृद्धि गर्न प्रयोगशाला र पुस्तकालय प्रयोगमा बृद्धि गर्ने उल्लेख गरे ।

त्यसैगरी शैक्षिक सामाग्रीको प्रयोग र शिक्षकहरुबाट विद्यार्थीहरुमा परामर्श सेवा उपलब्ध गराउने, शिक्षकलाई पुर्नताजगी तालिम दिने, शैक्षिक सुधारको लागि शिक्षाविद्हरुसंग अन्तक्र्रिया कार्यक्रम गर्ने, शिक्षण सिकाइमा सुधारात्मक मुल्याङ्कनका साधन प्रयोग गर्ने सुधार योजनामा जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद कृष्ण प्रसाद सिल्वालले सार्वजनिक विद्यालय ध्वस्त बनाउन शैक्षिक माफियाहरु लागिपरेको बताए । भौतिक पूर्वाधारहरु तथा स्रोत साधन सम्पन्न हुँदा समेत शिक्षामा सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गरे

उनले विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन पूर्वाधार निर्माण र शिक्षण सिकाइलाई प्रभावकारी बनाउने गरी काम गर्ने बताए ।

कालिका नगरपालिकाकी उप मेयर विमला लामाले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि प्रविधिको प्रयोग र प्राविधिक शिक्षा सुरु गरिएको बताइन् ।

कार्यक्रममा भीमोदय नमुना मा.विको शैक्षिक गुणस्तर विकासमा योगदान गरेका पूर्व अध्यक्ष, शिक्षक, शिक्षिकाहरु, उत्कृष्ट अंक ल्याई उत्तिर्ण गर्ने विद्यार्थीहरु, कर्मचारीलाई सम्मान गर्नुका साथै जेहेन्दा, विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामाग्री बितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कमल प्रसाद आचार्य, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, अभिभावक दिवश पाण्डे, विद्यार्थी आलिशा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक राम प्रसाद खनालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा १ हजार ५ सय विद्यार्थी अध्यायनरत रहेको शिक्षक डा. हरिप्रसाद कंडेलले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/27229

Previous articleनारायणी नदीमा ‘सिग्नेचर पुल’ बनाउने निर्माण कम्पनी छनोट, पुलको आयु कम्तिमा सय वर्ष हुने
Next articleआफ्नै किरिया सकिएको भोलिपल्ट सुरज घरमा टुप्लुक्क
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।