गुल्मी- गुल्मीको रेसुङ्गामा सञ्चालन भएको श्रीराम महायज्ञ, श्रीराम कथा वाचन महामहोत्सव एवं विराट सन्तभक्त दर्शन मेलामा २२ लाख बढि आम्दानी भएको छ । गुल्मी जिल्लाको रेसुङ्गा र भारतको अयोध्यासम्मको सम्बन्ध विस्तारका लागि गत वैशाख २३ गतेदेखी ३१ गतेसम्म चलेको विराट सन्तभक्त दर्शन मेला राखिएको थियो ।
मेलाबाट कूल २२ लाख ७६ हजार ४९५ रुपियाँ बचत भएको रेसुङ्गा संरक्षण समतिका कोषाध्यक्ष नेत्रबहादुर बस्नेतले बताउनुभयो । रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङगामा ९ दिनसम्म चलेको श्रीराम महायज्ञ, श्रीराम कथावाचन महोत्सव एंव विराट सन्तभक्त दर्शन मेलाबाट ५८ लाख, ४७ हजार ८९५ रुपियाँ संकलन भएको थियो ।
मेलाबाट विभिन्न शिर्षकहमा ३५ लाख ७१ हजार ४५० खर्च भएको छ । समितिले शनिवार आय व्याय विवरण सार्वजनिक गर्दै सबैभन्दा धेरै खर्च दान दक्षिणमा खर्च भएको विवरण प्रस्तुत गरेका थिए ।
जसमध्ये भारतबाट आएका सादुसन्तका लागि ९ लाख ४६ हजार ९७१ रुपियाँ खर्च भएको बस्नेतले बताउनुभयो । योसंगै स्थानीय पण्डित, कन्या दक्षिणमा ९६ हजार ४११ गरी कूल १० लाख ४३ हजार ३८२ रुपियाँ खर्च भएको समितिले जनाएको छ ।

बचत भएको २२ लाख रुयिाँबाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने समतिले जनाएको छ । त्यस्तै मेलाबाट बचत रकमबाट गौशलालाई ब्यस्थित गर्ने र रेसुङ्गाको बिकासको निम्ति खर्च गरिने संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो ।
रेसुङ्गामा समितिले ठूलो संख्यामा स्थानीय जातका गाई पालन गर्दै आएको छ । रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि अयोध्यासँग रहेको छ । तर रेसुङ्गा र अयोध्याबीचको धार्मिक सम्बन्ध प्रगाढ बन्न सकिरहेको छैन् । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा र भारतको अयोध्या बिचको सम्बन्ध प्रगाढ गर्ने र स्वदेशी तथा बिदेशी पर्यटक धेरै भित्र्याउने उदेश्यले मेला आयोजना गरिएको थियो ।
धार्मिक मेलामा अयोध्याबाट योगी शम्भुनाथजी महाराज लगायतका सन्तहरुबाट कथा वाचन गरिएको थियो । अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यश्रृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ ।

यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । यो सम्बन्धलाई अहिले प्रगाढ बनाउने र भारतबाट रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उदेश्यले मेला थियो ।
यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।
तम्घास बजारबाट रेसुङ्गा पोखरीसम्म गाडीको यात्रामा पुग्न सकिन्छ । पोखरीबाट १५ मिनेट पैदल यात्रापछि रेसुङ्गा शिरमा पुग्न सकिन्छ । अहिले रेसुङ्गा पोखरी क्षेत्रसम्म पुग्ने ८० प्रतिशत सडक कालोपत्रे भएको छ । पोखरीस्बाट पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ ।
जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ ।
ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।
समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ ।
रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ । गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।
https://ujyaalonepalnews.com/archives/28142


