बिजुक्छेँद्वारा परम्परागत घर निर्माण गर्ने स्थानीयवासीलाई ६४ लाख ७२ हजार अनुदान वितरण

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान दिनुभएको छ ।

भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यक्रममा आफ्ना नगर क्षेत्रभित्र मापदण्डअनुसार परम्परागत शैलीमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका स्थानीयवासीलाई ३५ प्रतिशत अनुदान रकम प्रदान गरेको हो ।

नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने स्थानीयवासीले खरिद गर्ने डाँची अप्पा, माः अप्पालगायतका इँटा, काठका कलात्मक झ्याल, ढोकालगायतका विभिन्न सामग्री खरिदमा लागेको कूल रकमको ३५ प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अध्यक्ष बिजुक्छेँले प्रतिव्यक्ति रु ७५ हजारदेखि आठ लाख ४६ हजारसम्म रकम प्रदान गर्नुभएको हो ।

कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रमा सम्पदाहरू आफैँमा जीवित रहेको चर्चा गर्दै यसको संरक्षणमा नगरपालिका आफैँ लाग्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, निर्माण र पुनर्निर्माणमा अगाडि बढाउनुपर्ने औंल्याउनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले अनुदान रकमलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने उल्लेख गर्दै परम्परागत शैलीमा घर निर्माणका लागि नगरवासीलाई प्रोत्साहन दिँदै आएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/28513

Previous articleविवाह मण्डपबाटै बेहुला पक्राउ
Next articleवीरगन्जका व्यापारीले भारु लिन छाडे, सिमा क्षेत्रमा ४ देखि ७ रुपैयाँसम्म भारु कमजोर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।