उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छ: अध्यक्ष ओली

0
127

चितवन- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताउनुभएको छ ।

नेपाल युवा उद्यमी मञ्च चितवनले यहाँ आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उहाँले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताउनुभयो । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उहाँले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ । त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ ।” उद्यमी बिग्रँदा ऊ मात्रै नबिग्रने बैंक पनि बिग्रने भन्दै उहाँले अनुगमनको दायित्व बैंकको हुनुपर्ने बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि तीन प्रतिशतमा रु १५ लाखसम्म ऋण दिन सुरु गरिएको उहाँले सुनाउनुभयो । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उहाँले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अव्यावहारिक नीति सरकारले हटाउनुपर्छ । कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ ।” उत्पादन वृद्धि १० प्रतिशतमाथि पुर्‍याउन सकिने भन्दै उहाँले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताउनुभयो ।

नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “अहिले नेपालमा एक वर्षमा रोजगारको खोजी गर्नेजति सबै रोजगार छैनन् त्यसकारण अबको बाटो भनेको उद्यमशीलता हो रोजगार होइन ।” नेपालमा बजारीकरणको कुनै समस्या नरहेको भन्दै उहाँले ठूलोमात्रामा गुणस्तरीय सामान उत्पादन गरेर राम्रो प्याकेजिङ गर्न सुझाव दिनुभयो ।

पुरानो तरिकाले नभएर सहकारी र समूहमा मिलेर धेरै उत्पादन गर्न उहाँको सुझाव थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको भन्दै त्यसको उचित प्रयोग गर्न नसकिएको उहाँको भनाइ थियो । पछिल्लो समय मजदुर आन्दोलन नभएको हुँदा ती समस्याबाट उद्यमीलाई राहत पुगेको उहाँले बताउनुभयो ।

मञ्चका अध्यक्ष विकल दाहालको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष सूर्यभक्त अधिकारी, पूर्वअध्यक्ष दाताराम घिमिरेलगायतले उद्योग र व्यवसायका क्षेत्रमा देखिएका समस्या र सुझाव राख्नुभएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/28712

Previous articleअदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
Next articleथोर्गाका कृषक व्यावसायिक लिची उत्पादनमा