बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ: अध्यक्ष ओली

चितवन- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । चितवनका उद्योगी व्यवसायीले भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताउनुभयो ।

“बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पुर्‍याएका गुनासो सुनेको छु”, ओलीले भन्नुभयो, “यसरी बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो होइन ।”

बैंकले लगानी गरेको ऋणबारे अनुगमन गर्नुपर्ने भन्दै उहाँले ऋणी र बचतकर्ताप्रति बैंक उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । “ऋण लगानी गर्‍यो, ब्याज आउँछ भनेर बैंक तथा वित्तीय संस्था बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “ब्याज प्राप्त नभए राम्रो सम्पत्ति लिलाम गर्न पाइन्छ भन्ने उनीहरूको मानसिकता छ, त्यो ठीक होइन ।”

बैंकले एकतर्फी रूपमा ब्याजदर बढाउनु पनि मिटरब्याजी भएको ओलीले टिप्पणी गर्नुभयो । “गाउँको लेनदेन मिटरब्याज भयो तर बैंकको किन हुँदैन ?” अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । बैंकहरूका कारण अहिले उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका भन्दै उहाँले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले सरकारको नीति र बैंकको ब्याजदरका कारण चितवनमा अहिले ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यले ल्याएको नीतिका कारण उद्योगी व्यावसायीलाई खराब ऋणीको रूपमा स्थापित गराउन खोजेको गुनासो गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/28741

Previous articleपोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु: प्रधानमन्त्री
Next articleपप्पु कन्ट्रक्सनका सञ्चालक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।