अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा

रसुवा- रसुवाको गोसाँईकुण्ड गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरेको छ । “समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने मुल नाराका साथ शुक्रबार एक कार्यक्रमका बीच पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गाँउपालिका घोषणा गरेको हो ।

नेपालको संविधान–२०७२ मा आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने भनेर प्रष्ट ब्यवस्था भएअनुसार चार वर्ष पुरा भई १३ वर्ष उमेर पुरा नभएका बालबालिका विद्यालयमै रहेकाले पालिकाको शिक्षा समितिको निर्णयानुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको हो ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौताअनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको गाउँपालिका अध्यक्ष कैसाङनुर्बु तामाङले बताउनुभयो ।

स्थानीय तहमा शिक्षा कोष स्थापना गरि गाँउपालिकाले कोषको रकम बालबालिकाहरूको लागि दिवा खाजा, स्वास्थ्य उपचार, कमजोर र बिध्यालय भर्नाभएकाहरुका लागि पोशाक तथा अन्य सामग्रीको व्यवस्था गरिसकेको छ भने तेहौं गाँउसभाले आर्थिक बर्ष २०८०।०८१ का लागि शिक्षामा कुल बजेटको एक तिहाई बजेट बिनियोजन गरेको छ ।

अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरमा कमाउने भन्दा पढाउनेतर्फ सोच गर्नु पर्ने बताउदै नौ बर्षदेखि तेह् बर्षसम्मका बालबालिकाले २०८५ सम्ममा अनिबार्य रुपमा आठ कक्षा उत्तिर्ण हुनुपर्ने उहाँले बताउनुभयो ।

पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक सचेतना कार्यक्रम अन्तर्गत् वडाहरुमा सडक नाटक प्रदर्शन समेत गरेको थियो । पालिकामा १६ सामुदायिक विद्यालय रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/28745

Previous articleपरम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित
Next articleनारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।