नेपालमा संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा आज संसद् दिवस मनाइँदै

काठमाडौं- ६५औँ संसद् दिवस आज मनाइँदै छ । विसं २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो । ‘सङ्घीय संसद्को परामर्शदातृ अङ्ग’ पूर्वसांसद मञ्च नेपालको आयोजनामा संसद् भवन, नयाँ बानेश्वरमा आज एक समारोह पनि आयोजना गरिँदै छ ।

नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा सभा प्रारम्भ भने ठीक मध्यरात १२ बजे सिंहदरबारस्थित ग्यालरी बैठकमा बसेको इतिहास छ । त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए । नेपाली कांग्रेसका नेताहरु सुवर्ण शमशेर तीन र शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले प्रतिनिधिसभाका तीन सिट खाली थियो ।

प्रथम संसद्ले १८ महिना पार नगर्दै विसं २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागु भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो ।

छयालिस सालको जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा नामबाट ‘संसद्’ को पुनःबहाली भयो । नेपालको अन्तरिम संविधान, २०६३ मा भने ‘व्यवस्थापिका–संसद्’ नामकरण भएकामा २०७२ को ‘नेपालको संविधान’ पछि प्रतिनिधिसभा र राष्ट्रियसभासहितको द्विसदनात्मक ‘सङ्घीय संसद्’ मा रूपान्तरण भएको छ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दुई सय ७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहन्छन् । समानुपातिक र समावेशिताका सिद्धान्तका आधारमा संसद् सदस्यले विविधतायुक्त नेपाली समाज एवं जनमतको प्रतिनिधित्व गर्दै आएका छन् ।

https://ujyaalonepalnews.com/archives/28753

Previous articleगुल्मीमा सामुहिक धान रोपेर दिवस मनाइयो (फोटो फिचर)
Next articleयुक्रेनलाई रोक्का गरिएको रूसी सम्पत्तिको करबाट वार्षिक तीन अर्ब युरो दिने ईयूको लक्ष्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।