बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ ।

सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । उहाँले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताउनुभयो ।

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो ।

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार बाढीपीडित जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पूर्वी पहाडी जिल्लाको बाढीपहिरोको बारेमा आफू पूर्ण जानकार रहेकाले त्यसको समस्या समाधानका लागि सरकारले कदम चालेको बताउनुभयो । बाढीबाट क्षति पुगेको पुलमा तत्काल बेलिब्रिज हाल्नका लागि निर्देशन दिइसकिएको प्रधानमन्त्री दाहालले सो अवसरमा जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/28985

Previous articleवर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने
Next articleकोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।