भोलि बिहान धौलीगंगा बाँध खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार सिल्ट सरसफाइको काम गरिने भएकाले बाँध भोलि मंगलवार बिहान ५ बजेदेखि राती ८ बजेसम्म खोलिने भएको हो ।

बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनले आग्रह गरेको छ । दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन भनिएको हो ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेला सरसफाइ गर्ने गरिएको छ । दार्चुला र धारचुलाबाट करिव १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाइएको बाँधबाट २८० मेगावाटको विद्युत उत्पादन भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/29105

Previous articleभालुको आक्रमणबाट एक जना गम्भीर घाइते
Next articleमृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।