नारायणघाट-बुटवल सडकः अत्यास र पट्यारलाग्दो यात्रा (फोटो फिचर)

0
72

पूर्वी नवलपरासी- पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड भएर यात्रा गर्ने यात्रुले निकै सास्ती खेप्दै आएका छन् । २०७५ देखि चार लेनको सडक विस्तारका लागि काम शुरु गरिएपनि अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ ।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्याका कारण यस राजमार्ग भएर यात्रा गर्ने यात्रु र स्थानीयले समस्या झेलिरहेका छन् । नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडकखण्ड पार गर्न अहिले कम्तिमा पनि पाँच घण्टा भन्दा बढी समय लाग्छ ।

सडक विस्तारको क्रममा रहेको हुर्दा पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्न निकै कठिन छ । राजमार्गको विभिन्न स्थानमा निर्माण गरिएका पुलहरुको काम सकिएको भएपनि पानी पर्नासाथ डाईभर्सन निर्माण गरिएको स्थानमा रातोमाटोले राजमार्ग चिप्लो हुँदा यात्रामा कठिनाई हुने गरेको यात्रुहरुको भनाई छ । अर्कोतर्फ पानी पर्दा राजमार्ग जलमग्न हुने र घाम लाग्दा धुलाम्मे हुदा सास्ती खेप्नु परेको स्थानीय बताउँछन् ।

१७ अर्ब लागतमा सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पुलहरुको काम सकिएको जनाएको छ । पानी पर्नासाथ राजमार्ग बन्द नहोस भनेर भत्केको स्थानमा मर्मतको कामलाई तिव्रता दिएको आयोजनाका प्रमुख राकेश झाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ ।

नारायणगढ–बुटवल सडकखण्डको ११४ किलोमिटर अन्तर्गत गैडाकोटदेखि दाउन्नेसम्मको पहिलो खण्ड ६५ र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर आयोजनाले काम गरिरहेको छ ।

२०७५ मा दुवै खण्डको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी आयोजनाले जिम्मा लिएको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको छ । थप गरिएको एक वर्षको म्याद भदौ महिनासम्म रहेको छ ।

राजमार्ग विस्तारको कार्य सम्पन्न गर्न आवश्यक समयका लागि फेरि म्याद थपको प्रक्रिया अगाडि बढाएको आयोजनाले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/29222

Previous articleएक लाख घुससहित लेखा अधिकृत पक्राउ
Next articleबेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै