कालोपत्रे गरिएको तम्घास-सिमलटारी सडक जीर्ण बन्दै

गुल्मी- गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले सहायक सडक बिस्तारको क्रममा राजमार्ग जीर्ण बन्न थालेको हो ।

सहायक सडक बिस्तारको क्रममा कालोपत्रे सडकमा फालिएको ढुंगा माटोले कालोपत्रे सडक अहिले घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बन्दै गएको छ । अहिले वर्षात पनि सुरु भएकाले सडकका बिभिन्न स्थानमा फालिएको माटोमा हिलाम्मै बन्दै गएपछि कालोपत्रे सडक हो या होइन भनेर छुट्याउन गाहे बन्न थालेको छ । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् ।

सडकको रैदी राखेढुंगा, छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक दिनहुँ जीर्ण बन्दै गएको हो । सडकको केहि स्थानमा निजी जग्गाबाट ढुंगा निकाल्ने कार्य गर्दा पनि ठाउँ–ठाउमा कालोपत्रे सडक जीर्ण बन्दै गएको छ ।

कालोपत्रे सडक माथी चेनवाला डोजर प्रयोग गरेर ढुंगा निकाल्ने कार्य पनि गरिदै आएको छ । सडक छेउमा ढुंगा निकाल्ने क्रममा खनिएको माटो पनि सडकमै फालिएको छ । कतिपय स्थानमा नालिबाट बग्नु पर्ने भेल पनि सडकबाटै बग्ने गरेको छ । जसले गर्दा अहिले वर्षातको समयमा सडक हिलाम्मै बन्दै गएको छ ।

सडक बनाउने क्रममा कालोपत्रे गरिएको संरचना बिगार्न नहुने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले सडक बिस्तारको क्रममा कालोपत्रे सडकमा क्षती भएको भए तुरुन्तै मर्मत गर्न सम्बन्धीत कार्यालय ध्यानाकर्षण गराएको बताउनुभयो ।

राज्यले करोडौं मूल्य खर्चेर निर्माण गरेको सडक संरक्षणमा सबैले ध्यानदिनु पर्ने स्थानीय झबी पाण्डेले बताउनुभयो । यस्तै कार्य गर्दै गए कालोपत्रे सडक छिट्टै नै भत्किंदै जाने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने पाण्डेको भनाई छ ।

मदनभण्डारी राजमार्गको बिभिन्न ठाउँमा सडक भत्कीएको ठाउँमा अहिले मर्मत पनि गरिएको छ । मर्मत गर्ने क्रममा केहि स्थानमा सडक छेउबाटै ढुंगा निकाल्ने कार्य गरिएको थियो । जसले गर्दा सडक ठाउँ–ठाउमा जीर्ण बन्न थालेको हो ।

सडक बिस्तारको क्रममा क्षती भएको स्थानमा निर्माण व्यवसायिले राजमार्ग पहिले जस्तै बनाइने मदनभण्डारी राजमार्ग कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर विरेन्द्र प्रकाश गुप्ताले बताउनुभयो ।

राजमार्गका केहि स्थानमा सहायक राजमार्ग बिस्तार गर्दा समस्या रहेको उहाँको भनाई छ । अहिले मदन भण्डारी राजमार्गमा कार्यालयले पनि पहिरो फाल्ने र केहि स्थानमा ग्याभिङ वाल लगाउने कार्य गर्ने क्रममा सडकमा राखिएका ढुंगा माटो भने हटाइने इन्जिनियर गुप्ताले बताउनुभयो ।

कार्यालयले ठेक्का लगायका बाहेक सहायक राजमार्ग बिस्तारको क्रममाभने समस्या रहेको गुप्ताले बताउनुभयो । केहि दिन अघि रैदीमा ढुंगा निकाल्ने क्रममा सडकमा फालिएको माटो निर्माण व्यवसायिले बनाइ दिने भनेर जानकारीमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।

उहाँले सडक बिस्तार र मर्मतको क्रममा कालोपत्रे सडक बिगार्ने भत्काउने कार्य कसैले पनि गर्न नपाइने बताउनुभयो । राजमार्गको बिभिन्न ठाउँमा निर्माण व्यवसायिले काम गर्दा क्षतीभएको स्थानमा तुरुन्तै मर्मत र पहिले जस्तै बनाउनको लागि सम्बधीत कार्यालयलाई ध्यानकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी केसीको भनाई छ ।

पाँच वर्ष पहिले करिब एक अर्बको लागतमा तम्घासबाट सिमलटारीसम्म २९ किलोमिटर सडक कालोपत्रे गरिएकोमा कतिपय स्थानमा जीर्ण र भत्कीन थालेको छ । राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारीसाधान आउ–जाउ गर्दछन् ।

https://ujyaalonepalnews.com/archives/29452

Previous articleशिवखोलामा ट्रक दुर्घटना, ट्रक भित्रै च्यापिएका घाइते चालकको उद्दार प्रयास जारी
Next articleनेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।