Home Uncategorized ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्‍न आदेश

ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्‍न आदेश

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकालाई सरकारी छाप र दस्तखत किर्ते लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो ।”

उक्त प्रकरणमा हालसम्म १९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कलाधर देउजालाई आजै पक्राउ गरी अनुसन्धान थालिएको छ ।

यसअघि गत असार ३१ गते पनि अदालतले पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेका भन्दै सिआइबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललितानिवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

https://ujyaalonepalnews.com/archives/29559

Previous articleदेशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ
Next articleप्रधानमन्त्री प्रचण्ड भोली साँझ इटालीको रोम जानुहुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।