
मछिन्द्र क्लब शहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेसँगै यसका कप्तान विराज महर्जनले तीन क्लबबाट देशकै ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने सौभाग्य प्राप्त गरे।
यसअघि थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजनको उपाधि उचालेका विराजले यसपटक मछिन्द्रमा अनुबन्ध भएको पहिलो सिजनमै च्याम्पियन छवि कायमै राखेका हुन्।
गतवर्ष ५ वर्षपछि भएको ए डिभिजिन लिगको उपाधि पनि उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो। २००७ मा थ्री स्टारबाट घरेलु शीर्ष डिभिजन खेल्न सुरु गरेका विराजले त्यसको चारवर्षपछि थ्रीस्टारबाटै पहिलोपटक उपाधिको स्वाद चाखेका थिए।
थ्री स्टार छाडेर २०१६ मनाङसँग आवद्ध भएका विराजले गतवर्ष मनाङलाई कीर्तिमानी आठौंपल्ट लिग जिताउँदा कप्तानीको आर्मब्याण्ड बाधेका थिए।
यस सिजनका लागि उनीसहित स्टार खेलाडीलाई मछिन्द्रले लिग जित्ने उदेश्यसहित अनुबन्ध गरेको थियो। शनिबार भएको आर्मीविरुद्धको लिगको अन्तिम खेल १–०ले आफ्नो पोल्टामा पारेसँगै विराज सम्मेलित मछिन्द्र नयाँ च्याम्पियन बन्यो।
दोस्रो हाफको अन्त्यतिर मैदान छिरेका विराजले आफ्नो डिफेन्डिङ च्याम्पियनको छवि समेत कायम राखे। ‘एकदमै खुशी छु। यो मेरा लागि एकदमै ठूलो सौभाग्य हो,’ तीन क्लबबाट उपाधिको ह्याट्रिक गरेपछि विराजले भने, ‘यस्तो अवसर सबै खेलाडीले पाउदैँनन्। तीन क्लबबाट उपाधिको स्वाद चाख्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु।’
अघिल्लो सिजनमा अन्तिम दोस्रो स्थानमा रहेको टिमलाई च्याम्पियन बनाएर उपाधि उचाल्नुको सफलता विशेष त छ नै तर विराज भने तीनवटै क्लबबाट जितेका उपाधिहरु समान भएको बताउँछन्।
‘खेलाडीकसैले पनि हार्न चाहान्न। मेरालागि तीनवटै उत्तिकै महत्वपूर्ण छन्। म तीनवटै क्लबबाट जितेका ट्रफीमध्ये कोहीभन्दा कोही महत्वपूर्ण भनेर छुटाउँन सक्दिन,’ विराजले भने।
यसपटकको लिगमा मनाङमा हेभिवेट खेलाडीहरुलाई भित्र्याउँदै मछिन्द्रले सुरुदेखि नै उपाधिको दाबेदार गरिरहेको थियो। क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराजसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण विजेता नेपाली टिमका कप्तान सुजल श्रेष्ठ, मिडफिल्डर विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, गत सिजनका उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, दीपक राई, देबेन्द्र तामाङ, अभिशेक रिजाल, अफ्रिकी मूलका एडेलेजा सोमिडेलाई साविकको विजेता मनाङ मस्र्याङ्दी क्लबबाट भित्र्याएको थियो।
यस्तै अर्को दाबेदार क्लब थ्रीस्टारका विदेशी खेलाडी पिटर सेगुन, विजय धिमाल, रन्जित धिमाल र बुद्ध चेम्जोङलाई समेत मछिन्द्रले ठूलो रकम खर्चेर अनुबन्ध गरेको थियो। क्लबको आफूहरुमाथि खर्चेको रकमको प्रतिफलस्वरुप आफूहरुले उपाधि जित्न पाउँदा विराजले खुशी व्यक्त गरे।
‘यो मछिन्द्र क्लबका लागि सबैभन्दा ठूलो खुशीको दिन हो,’ अघिल्लोवर्ष पुछारबाट दोस्रो स्थानमा रहेपछि एक अंक गुमाएको मछिन्द्रबारे विराजले भने, ‘क्लबले फुटबलमा जुन लगानी गरेको थियो। त्यसको प्रतिफल दिन पाउँदा हामी(खेलाडी)एकदमै गौरवाम्वित र खुशी छौं। फुटबलले लगानी गरे त्यसले नतिजा दिन्छ भन्नेपनि यो उदाहरण हो।’
सुखद अन्त्यको पखाई
राष्ट्रिय फुटबल टिमका डिफेन्डर विराज नेपाली जर्सीमा सबैभन्दा बढि खेल खेल्ने खेलाडी पनि हुन्। तर, पछिल्लो समय भने उनी टिममा पर्न संघर्षरत छन्। बढ्दो उमेरका कारण पनि उनले सन्न्यासको मुड बनाइसकेका छन्।
लिग जितेपछि राष्ट्रिय टिममा फर्कने भन्दा पनि सुखद विदाईको पखाई विराजलाई छ। उनी भन्छन्, ‘सबै खेलाडीको आफ्नो समय आउँछ। मैले मेरो जिम्मेवारी पूरा गरिसकेँ। अब राष्ट्रिय टिममा आउने भन्दा पनि नयाँ पुस्तालाई स्थान दिनुपर्छ जस्तो लाग्छ। मैले ‘सेफ ल्याडिङ’को सोचमा छु। सबैलाई खुशी पारेर जान्छु।’
विराजले आफूले सन्न्यास लिनेबारे एन्फा पदाधिकारीलाई बताइसकेका छन्। सम्भवत आगामी चैत्रमा घरेलु मैदानमा हुने चाइनिज ताइपे वा अष्ट्रेलियाविरुद्धको खेलबाट विराजले बुट थन्काउनेछन्।


