‘पियारी आमा’, जसको घर सानो, मन ठूलो

त्रिवेणी- खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।”

गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुग्नुभएकी उहाँलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उहामँले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

पियारी आमाले कावासोती–४ मै रहेको सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गादान दिनुभएको छ । निःसन्तान उहाँ श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आउनुभएको छ । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै हुने गरेको छ ।

विद्यालयलाई दिएको जग्गामै घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गर्नुभएको छ । “मैले दान दिएको हुँ, हामीकहाँ दान दिएको फेरि आफूले लिनहुन्न भन्ने छ”, उहाँले भन्नुभयो, “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।”

पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, श्रीमान् भारतीय सेना भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गर्नुभएको छ । विशेषगरी विद्यालयलाई दान दिनमै उहाँको रुचि छ ।

पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गर्नुभएको सरस्वती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील पौडेलले बताउनुभयो । “उहाँलाई अरूको सहयोग गरौँ भन्ने भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उहाँमा रहेको अध्यक्ष पौडेलले बताउनुभयो । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले सर्वस्व दाताका रूपमा सम्मानसमेत गरेको छ ।

शिक्षाको विकासका लागि निस्वार्थभावमा आफ्नो सबै जायजेथा दान गरेकाले उहाँको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।

“शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान आफैँमा धेरै ठूलो रहेको छ, हामीले यस्ता दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ”, शिक्षा शाखा प्रमुख भण्डारीले भन्नुभयो ।

“व्यक्तिगत स्वार्थ त्यागेर सार्वजनिक हितका लागि योगदान दिने सबै व्यक्ति सम्मानयोग्य हुन् । जसले अरुका हितका लागि निःस्वार्थभावले आफ्नो सबै सम्पत्ति दिन्छ, त्यो महान् कार्य हो”, प्रमुख भण्डारीले भन्नुभयो ।

“शर्त राखेर दान दिने र चन्दा दान दिएको संस्थाको मूल प्रवेशद्वारमै रकम उल्लेख गरेर नाम नलेखी दिए वा सोचेअनुरूप कदर नभए चित्त दुःखाउने पनि हुन्छन् समाजमा, तर पियारी आमा जसले दानको वास्तविक मर्म, इज्जत, गरिमा र संस्कार पालना गर्नुभयो, उहाँको जीवनी अरुका लागि पनि अनुशरणयोग्य छ, यसकारण सम्मानमा स्तम्भ निर्माण गर्न लागेका छौँ”, प्रमुख भण्डारीले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/29971

Previous articleसाउदी अरबद्वारा प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने
Next articleभरतपुर महानगरपालिका र चीनको सिगात्से सिटीबीच दुई पक्षीय हितमा काम गर्ने सहमति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।