सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ: मन्त्री शर्मा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला शाखाद्वारा आयोजित ‘एसइई (२०७९) सम्मान कार्यक्रम–२०८०’लाई सम्बोधन गर्दै उहाँले सङ्घीय शिक्षा ऐन अहिले मन्त्रिपरिषद्बाट पास भएर संसद्मा दर्ता हुने प्रक्रियमा रहेको जानकारी दिनुभयो ।

“हाम्रो शिक्षा ऐन परिवर्तन गर्न नसकेर लामो समय गुज्रिएको थियो र २०२८ सालको शिक्षा ऐनबाट २०८० सालका विद्यार्थीलाई पढाउनुपर्ने यो अवस्था बनेको थियो, अब त्यसको अन्त्य हुँदैछ, २०२८ सालको शिक्षा ऐन परिवर्तन गर्नुपर्ने थियो र त्यो परिवर्तन हुँदैछ, शिक्षा ऐन आउनु नै ठूलो कुरा हो”, सरकारका प्रवक्ता शर्माले भन्नुभयो ।

मन्त्री शर्माले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समाजवादमा जाने पनि भनेका छौँ, समाजवाद हाम्रो लक्ष्य भनेका छौँ, त्यो भनेको शिक्षा र स्वास्थ्य निश्चित रुपमा मौलिक हकका रुपमा सुनिश्चित हुनुपर्छ भन्ने नै हो र यो निःशुल्क हुनुपर्छ भन्ने हो ।”

संविधानले १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उहाँको भनाइ थियो । “निजी क्षेत्रको योगदान आफैँमा महत्वपूर्ण छ, त्यो भन्दाभन्दै पनि सबै विद्यार्थीको पढाइ लेखाइलगायत सम्पूर्ण कुरा सामुदायिक विद्यालयले मात्रै भूमिका निर्वाह गर्न सकिरहेको अवस्था थियो, यो सन्दर्भमा निजी विद्यालयले अत्यन्त महत्वपूर्ण योगदान गरेका छन्”, उहाँले भन्नुभयो ।

थुप्रै राजनीतिक परिवर्तनपछि देश यहाँसम्म आए पनि देशप्रतिको माया, आफ्नो माटोप्रतिको माया, संस्कार, आफ्नो पहिचानप्रतिको माया विस्तारै कम हुँदै गएको जस्तो भान भइरहेको उहाँले बताउनुभयो ।

“कक्षा १२ पास हुन पाएको छैन, १२ कक्षा पास हुन पाउँदा नपाउँदै विदेश जाने जुन लर्को देखिन्छ, बाहिर पढाउने जुन मनोविज्ञान देखिन्छ, त्यसले गर्दा हाम्रो उच्च शिक्षालाई थप गुणस्तरी बनाउनुपर्ने चुनौती छ, पढाइमा उत्कृष्ट हुने तर व्यवहारमा नहुने भन्ने चिन्ता पनि उत्तिकै छ”, उहाँले भन्नुभयो ।

प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले राज्यले सीपमूलक शिक्षाको वकालत गर्दै आएको भए पनि सीपमूलक शिक्षा दिने कुरामा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई समान रुपले अवसर दिइनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्याद्यर्थी तथा सदस्य विद्यालयहरुलाई सम्मान गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/29988

Previous articleबिहान झिसमिसेदेखि साँझसम्म बारीकै बास, आँखा झिमिक्क पार्यो की मकै सखाप 
Next articleझापा कारागारमा झडपपछि आगलागी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।