सदनको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने माओवादी संसदीय दलको निर्णय

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले सभाको गतिविधि र मुख्य सचेतक पाण्डेले प्रतिनिधिसभाको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

दुवै सदनका सचेतकको ‘ब्रिफिङ’ का सम्बन्धमा राष्ट्रियसभा र प्रतिनिधिसभाका १२ सांसदले धारणा राख्नुभएको थियो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले समग्र नेपाली जनताको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिनुभएको थियो ।

उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिले लिएका निर्णय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकको मूल भावका साथै सङ्घीय संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा प्रष्ट पार्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/30066

Previous articleप्रतिनिधि सभाको विषयगत समितिका सभापति चयनका लागि बाटो खुल्यो
Next articleमलेसियामा २० हजार रिंगेट पुरस्कार राशीको जोहोर कप फुटबल प्रतियोगिता हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।