काठमाडौं । सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ । आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवतजावतमा समस्या पर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियालगायतले शनिबार त्यस क्षेत्रको अनुगमन गरेका छन् । सम्बन्धित निकायलाई जिम्मेवार र जवाफदेही बनाउन र केकस्तो काम भइरहेको छ भनेर अनुगमन गरिएको मन्त्री नेम्वाङले बताए । गत दसैंको समयमा स्वयं प्रधानमन्त्रीले यस बाटोको सन्दर्भमा निर्देशन दिनुपर्ने अवस्था आएकाले अहिले समयमा नै यस क्षेत्रमा काम थालिएको मन्त्री नेम्वाङले बताए ।
अनुगमनका क्रममा मन्त्री नेम्वाङले यातायात र यात्रु सबैलाई हेरेर ठीक ढंगले समयमा नै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । मुख्य नाका भएको र सडक मर्मतका क्रममा केही असुविधा हुने भएपनि निर्माण समयवाधिसम्म धैर्य गरिदिन सबैसँग आग्रह गर्दै उनले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले जोड दिएको बताए । ‘ठूला आयोजना सम्पन्न गर्दै लैजाने र काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउने काममा लागेको छु, साना साना प्रत्यक्ष जनता र यात्रुसँग सम्बन्धित विषय पर्दछन् तिनलाई ध्यान दिने कुराको अभियान सुरु भएको छ,’ उनले भने ।
झन्डै दुई साता सवारी आवागमनमा बाधा
१०–१० मिनेटको अन्तरमा एकतर्फी सडक खुलाइँदै
मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनुगमन
प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले पहिलो चौमासिकमा मन्त्री र सचिवलाई सम्बोधन गर्ने क्रममा खाल्टाखुल्टी पुर्ने र कालोपत्रे गर्न दिएको निर्देशनअनुसार काम भइरहेको बताए । ‘काठमाडौंले हेर्ने ९५ वटा सडक, ललितपुरले हेर्ने ३८ वटा र भक्तपुरले हेर्ने १९ वटा सडकहरूमा तालिका बनाएर खाल्टाखुल्टी पुर्ने र स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ,’ उनले भने ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले सरकारले खाल्टाखुल्टी र कालोपत्रे पुर्ने कामलाई तीव्रता दिएको बताउँदै नागढुंगा खण्डमा ८/१० दिनसम्म सवारी आवतजावतमा सामान्य समस्या देखिने बताए । ‘नागरिकलाई पनि सहज होस् काम पनि होस् भनेर व्यवस्थापन गरेका छौं,’ उनले भने, दिउँसो पिक आवरभन्दा बाहेकको समय काम गर्ने भन्ने छुट्याइएको छ, राति काम गर्ने प्रयास गरिए पनि कालोपत्रे गर्न तापक्रम नपुग्ने भएकाले दिउँसो नै गर्नुपर्ने बाध्यता छ ।’
उनका अनुसार १०/१२ मिनेटसम्म एकतर्फी सवारी रोक्ने र पुनः १०/१२ मिनेट अर्कोतर्फीको सवारी रोकेर अवातजावत गराउने काम भइरहेको छ ।डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताए । ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको उनले बताए । डिभिजनले चालू आवमा झन्डै ४१ किमि सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमिमा काम भइसकेको उनले बताए ।
सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमित रूपमा अघि बढिरहेको बताए । उनले १० दिनमा काम सम्पन्न गर्ने लक्ष्य राखे पनि सामान ल्याउन केही समस्या भएकाले १२/१३ दिनमा काम सम्पन्न गर्ने बताए ।
The post नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम appeared first on Rajdhani Daily News.