युवाले नै नेपालको रुपान्तरण गर्ने हो: अर्थमन्त्री डा प्रकाशशरण महत

ललितपुर- अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“युवाले नै नेपालको रुपान्तरण गर्ने हो । विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर विदेश जाने मात्रै धारणा र सोच नबनाउनुस्, विदेशमाभन्दा नेपालमा नै धेरै काम गर्न सकिन्छ, नेपालमा धेरै कुरा गर्न बाँकी छ, कहाँ अवसर छ भनेर सुक्ष्म दृष्टिबाट सोचेर अवसर खोज्नुस्, “अर्थमन्त्री डा महतले भन्नुभयो, “युवालाई विदेशिनबाट रोक्ने कसरी भन्ने अहिले महत्त्वपूर्ण बनेको छ । युवामा भएका क्षमता, योग्यता, सम्भावनालाई यही सदुपयोग गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानुभयो भने पनि फर्कनु होला ।”

नेपाली युवाले सफ्टवेयर बनाएर एक्सपोर्ट गरिरहेको बताउँदै डा महतले नेपालमा सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने धेरै अवसर र सम्भावना रहेको तर्क इङ्गीत गर्नुभयो ।

उहाँले बजेटमा युवा उद्यमशीलाका लागि एक अर्ब रकम छुट्याएको बताउँदै युवालाई युवा स्वरोजगार कोष, मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नसक्ने बताउनुभयो । युवा उद्यमीलाई तीन प्रतिशत व्याजमा ऋण पाउने व्यवस्था रहेको बताउँदै डा महतले आयोनलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा सन् २००४ देखि दिवस मनाउने परिपाटी सुरु भएको बताउँदै चौबिसौँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदा वार्षिक छदेखि सात लाख युवा विदेशिने गरेको तथ्याङ्क रहेको बताउनुभयो ।

उहाँले सरकारलाई उद्यमशीलताका लागि कार्यक्रम ल्याउन र सोहीअनुसार युवाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ९२ वटा युवा संस्था आबद्ध रहेको युवा संस्था सञ्जाल नेपाल (आयोन)का तर्फबाट अध्यक्ष विकल राईले युवाका आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको मागपत्र हस्तान्तरण गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/30302

Previous articleएक हप्ताअघि हराएकी महिलाको शव गाडिएको अवस्थामा फेला
Next articleविद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।