कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।

पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले आज आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने थियो भन्नुभयो ।

“हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले गर्‍यौँ”, उहाँले भन्नुभयो, “यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।”

उहाँले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताउनुभयो ।

“हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रतिनिधिसभा विघटनपछि पार्टी मजबुतरुपमा अगाडि बढेको दाबी गर्नुभयो । पार्टीबाट निकालिएको शक्ति फेरि पनि प्रतिनिधिसभा पुनःस्थापना हुँदा पहिलो शक्तिको रुपमा रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

वामपन्थी चिन्तनलाई प्रतिक्रियावादीले सुन्न नचाहने गरेको उल्लेख गर्दै उहाँले यथास्थितिवाद र वामपन्थको कहिले मिलाप नहुने उल्लेख गर्नुभयो । “वामपन्थले देशमा सुधार र परिवर्तन चाहने गर्दछ । चाहे त्यो सङ्ख्यात्मक होस् वा गुणात्मक । परिस्थिति अनुकूल छ भने गुणात्मक परिवर्तन ल्याउने काम वामपन्थले गर्दछ”, अध्यक्षले भन्नुभयो ।

अध्यक्ष ओलीले अहिले पुँजीवादीसँग पैसा भएकाले कम्युनिष्ट आन्दोलन दबाउन खोजिएको बताउनुभयो । “अहिले पद, पैसा, सुविधा र क्रयशक्ति पुँजीवादीसँग रहेको छ । त्यस कारणले क्रयशक्तिको कारणले पुँजीवादी घुसपैठ पनि गर्न सक्दछन्”, उहाँले भन्नुभयो, “हाम्रोजस्तो देशमा अहिले पनि परम्परागत शक्ति दबाउने चलन रहेको छ । उनीहरुको वर्चश्व रहेको छ ।”

उहाँले ज्ञानलाई व्यवस्थित गर्नका लागि चिन्तन आवश्यक रहेको भन्दै चिन्तनबाट प्राप्त गरेको ज्ञानलाई सम्प्रेषण गर्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले सँधै गुरुले सिकाएको ज्ञान मात्र ज्ञान नभएको भन्दै रचनात्मक ढङ्गले मानिले आफैँमा ज्ञान प्रस्फुटन गराउनुपर्ने भनाइ राख्नुभयो ।

https://ujyaalonepalnews.com/archives/30424

Previous articleतत्कालीन प्रजिअ रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर
Next articleसुन प्रकरणमा जोडिएका माओवादी नेता महरामाथि अभियोजन अघि बढ्ने प्रधानमन्त्रीको भनाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।