पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ: महामन्त्री थापा

0
72

इलाम- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताउनुभएको छ । इलामको फिक्कलमा आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गर्नुभयो ।

विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उहाँको भनाइ छ । “सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । सङ्घर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ”, महामन्त्री थापाले भन्नुभयो, “कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।”

पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटकपटक एउटै मान्छे पुगे पनि कुनै रुपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने उहाँको भनाइ छ । “स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौँ ।”

उहाँले भन्नुभयो, “तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यहि तरिकाले ८४ को आम चुनावमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्र्ने ?”

आउँदो चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने थापाको भनाइ छ । एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढङ्गमा बदलेर लैजान जरुरी भएको उहाँले बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/30513

Previous articleश्रमिकको तलब वृद्धि कार्यान्वयन गर्न सकिँदैन: उद्योग परिसङ्घ
Next articleझापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’