Home Uncategorized लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । सार्वनजिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा क्रमशः ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिनुभएको हो ।

पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी हुनुहुन्छ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा मा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उहाँको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।

पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन हुनुहुन्छ ।

प्रतिनिधिसभाअन्तर्गत् १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि हुने निर्वाचनका लागि आज बिहान ११ देखि अपराह्न ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका आरजु राणा देउवा उम्मेदवारी दर्ता गराउने तयारीमा हुनुहुन्छ ।

यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी उम्मेदवारी दर्ता गराउने तयारीमा हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/30762

Previous articleनौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन
Next articleदार्चुलामा एक महिलाद्वारा मट्टितेल छर्केर आत्मदाहको प्रयास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।