भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो ।

“पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उहाँले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताउनुभयो ।

उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको सङ्ख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ”, प्रधानन्यायाधीश श्रेष्ठले थप्नुभयो, “सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु ।”

नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त हुनुभएको थियो । उहाँले भदौ ५ गते पद तथा गोपनियताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गर्नुभएको हो । मञ्चले लामो समयदेखि न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारबीच पुलको भूमिका निर्वाह गर्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/30769

Previous articleकांग्रेस अनुशासन समितिको कार्यविधि पारित
Next articleसमृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।