नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उडान तालिकाअनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिनसक्नेछन् ।

https://ujyaalonepalnews.com/archives/30773

Previous articleबाल सुधार गृह प्रकरण: मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण
Next articleप्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।