साउदीमा सुतेकै अवस्थामा अस्ताए अल्मराईमा कार्यरत सन्तोष
उज्यालो नेपाल, पौष १३- साउदी अरेबियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका तनहुँका सन्तोष अधिकारीको ह्रुदयघातबाट ज्यान गएको हो। साउदीको प्रतिष्ठित कम्पनी अल्मराई कम्पनीको दमाममा रहेको गोदाममा कार्यरत अधिकारीको गत आइतबार दिउसो सुतेकै अवस्थामा मृत्यु भएको संगै कार्यरत अर्का नेपालीले जानकारी दिए।
नाईट सिफ्ट ड्युटी गरेर खाना खाई सुतेका अधिकारीले दिउँसो बजे अस्वाभाविक रुपमा खोकेपछी संगै कोठामा रहेका साथीले कम्पनीमा खबर गरेका थिए । कम्पनीले तुरुन्त प्रहरी र एम्बुलेन्स पठाएर उद्धार गरेपनि अस्पतालले उनलाई मृत घोषित गरेको कम्पनीका सिनियर सेल्स सुपरभाइजर राजु केसीले जानकारी दिए । उनको ह्रुदयघातबाट ज्यान गएको अस्पतालले बताएको छ ।
अधिकारी आउँदो फ्रेब्रुअरीमा घर जाने तयारीमा रहेको केसीले जानकारी दिएका छन् । उनको मृत्युको बारेमा परिवार र नेपाली दूतावासलाई जानकारी गराईएको छ । आवश्यक कानुनि प्रक्रिया पुरागरेर शव नेपाल पठाईने दुताबास्सले जनाएको छ । ३३ वर्षिय मृतक अधिकारीको घरमा आमा, श्रीमती, एक छोरा र एक छोरी रहेको बताईएको छ ।


