पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ ।

बुधबार अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो । उहाँका अनुसार दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरेको थियो । ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरूसहित अहिलेसम्म २५ जना पक्राउ परेका छन् । उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।

यस्तै विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राहुल महरामाथि पनि पाँच दिन म्याद थप गरी अनुसन्धानको समय लिइएको सिआइबीले जनाएको छ ।

राहुलले भने आफैँ सिआइबीमा गएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।

पौडेल भन्सारका कर्मचारी, बस्नेत दावाका सहयोगी

यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ । प्रवक्ता कडायतले उनी भन्सारका अधिकृत भएको खुलेको बताउनुभयो ।

यस्तै अर्का किशोर बस्नेत भने यसअघि पक्राउ परेका दावा छिरिङका सहयोगीका रूपमा काम गरेको पाइएको छ । पौडेलले भन्सारमा बसेर तस्करलाई सहयोग गरेको तथ्य खुलेको पनि प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30867

Previous articleकाठमाडौँ महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
Next articleदाङमा बाघले तेह्र वटा बाख्रा मार्‍यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।