हावाहुरीले मकै बाली नष्ट

0
44

बागलुङ- हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । मकैका घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको बाली नष्ट गरिएको हो ।

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिनुभयो । शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उहाँको भनाइ छ ।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले रु ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उहाँले बताउनुभयो । किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उहाँको भनाइ छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताउनुभयो । किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताउनुभयो ।

जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बीउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/31008

Previous articleइस्मा गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान
Next articleतम्घास सिमलटारी सडक खण्डमा पक्की पुल नहुँदा सास्ती