एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल दुई मतले विजयी

रुपन्देही- बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई दुई मत मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको हो ।

विजयी कंडेलले ४७९ मत प्राप्त गर्नुभएको थियो भने रिजालले ४७७ मत प्राप्त गर्नुभएको हो । पदाधिकारीमा एक उपसचिव वाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकटका भनेर प्रचार गरिएको थियो ।

सचिवमा लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य पनि कंडेल पक्षका हुन् । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी हुनुभएको छ। महिला उपसचिवमा लिला राना विजयी हुनुभएको छ । बुढामगर रिजाल प्यानलकाबाट चुनाव लड्नु भएको थियो भने बाँकी सबै कंडेल प्यानलबाट चुनाव लडेका थिए ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएका थिएनन् ।

https://ujyaalonepalnews.com/archives/31098

Previous articleकृष्ण जन्माष्टमी: पाटनको कृष्ण मन्दिरमा यस्तो छ चहलपहल (फोटो फिचर)
Next articleभन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।