गुल्मीको सानो रेसुङ्गामा मन्दिर, आश्रम स्थल र ऋष्यशृङ्गको मूर्ति अनावरण

गुल्मी- गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल सानो रेसुङ्गा क्षेत्रमा ऋष्यशृङ्गको मूर्ति अनावरण गरिएको छ । त्रेता युगमा रेसुङ्गा क्षेत्रमा ऋष्यशृङ्गले तपस्या गर्नुभएको थियो ।

अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी शृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यशृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ । यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ ।

यहि मान्यताका आधारमा रेसुङ्गा धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिंदै आएको हो । त्रेता युगमा तपस्वी ऋष्यशृङ्गको तपस्यास्थल रेसुङ्गा क्षेत्रको सानो रेसुङ्गामा मूर्ति अनवरण गरिएको छ ।

प्युठान जिल्लाको स्वर्गद्धरी आश्रमका मुख्य पिठाधिस ब्रह्चारी डा.रुद्रानन्द (ध्रुव श्री) ले ऋष्यशृङ्गको मन्दिर, ब्रह्चरी आश्रम र मूर्ति अनवरण गर्नुभएको हो । दुई वर्ष पहिले निर्मित मन्दिर, आश्रमस्थल र त्यस स्थानमा तपस्वी ऋष्यशृङ्गको मूर्ति एक कार्यक्रम बिच मन्दिर उद्घाटन र मुर्ति अनावरण गरिएको थियो ।

रेसुङ्गा र प्यूठान जिल्लाको स्वर्गद्धरीबीच प्राचिन कालदेखिको सम्बन्ध रहेको पाइन्छ । त्यहि सम्बन्धलाई पुनः कायम गर्ने उदेश्यले त्यस स्थानका मुख्य पिठाधिसलाई ल्याएर मन्दिर र मूर्ति अनावरण गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

रेसुङ्गा तपस्या गर्नका लागि नेपालकै मूर्धन्य क्षेत्र रहेको प्यूठान जिल्लाको स्वर्गद्धरी आश्रम मन्दिरका मुख्य पिठाधिस डा.रुद्रानन्द (ध्रुव श्री) ले बताउनुभयो । उहाँले स्वर्गद्धरी आश्रमबाट महात्माहरु रेसुङ्गा आएर तपस्या गरेर उर्जा प्राप्त गरेर आउ–जाउ गर्ने गरेकाले यहाँको सम्बन्ध स्वर्गद्धरी आश्रमसँग लामो खालको रहेको बताउनुभयो ।

यस क्षेत्रमा आउने पुस्ताको लागि नैतिक जीवनको पाठ यस स्थानले पढाउने उहाँको भनाई छ । । यस स्थान जीवनको लागि सहि उर्जा दिने स्थलका रुपमा परिचित रहेको पिठाधिस डा.रुद्रानन्द (ध्रुव श्री) ले बताउनुभयो ।

सानो रेसुङ्गामा निर्माण भएको मुख्य मन्दिर, आश्रम स्थल र मूर्ति सहित करिब डेढ करोडको लागतमा निर्माण गरिएको रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको र रेसुङ्गा नगरपालिकाको साझेदारीमा निर्माण गरिएको हो ।

तत्कालिन समयमा रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले रेसुङ्गा क्षेत्रलाई धार्मिक पर्यटक धेरै ल्याउने उदेश्यले प्राचिन मन्दिरलाई पुनः निर्माण कार्यलाई जोड दिनुभएको थियो । दुई वर्ष पहिले निर्माण भएपनि बिबिध कारणले सञ्चालनमा आउन सकेको थिएन ।

मन्दिर शुभारम्भ र मुर्ति अनावरणसँगै सर्वसाधारणको अवलोकनका लागि पनि खुल्ला गरिने भएको छ । ऋष्यशृङ्गको मूर्ति अनावरणसँगै यसको गरिमा अझ बढि बढने अपेक्षा गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताउनुभयो ।

उहाँले रेसुङ्गा क्षेत्रमध्ये सानो रेसुङ्गा क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो । यस स्थानमा धार्मिक पर्यटकहरु बढाउने मुख्य उदेश्य रहेको भुसालको भनाइ छ ।

ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।

ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्चारी तदर्थानन्दले काँचो खाना मात्रै खाएर वषौंदेखि तपस्या गर्दै आउनु भएको छ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसारको काम भइरहेको छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ । रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ ।

गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ । जिल्लाको प्रमुख नगर तम्घास रेसुङ्गाकै काखमा बसेको छ ।

यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै बिश्वमै लोपउन्मुख गिद्दसँगै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् ।

https://ujyaalonepalnews.com/archives/31499

Previous articleवर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का
Next articleरसुवा भन्सार कार्यालयबाट लक्ष्य भन्दा दोब्बर राजस्व सङ्कलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।