सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको बैठक अपरान्हसम्मका लागि स्थगित

काठमाडौं- सरकार र आन्दोलनरत् नेपाल शिक्षक महासंघबीच आज अपरान्ह पुन: वार्ता हुँदैछ । गृहमन्त्रालयमा केहीबेर अघि बसेको बैठकमा तयारी पूरा नभएकोले अपरान्ह पुन बस्‍ने गरी स्थगित भएको छ ।

दुबै पक्षले वार्ता समिति बनाइ वार्तामा बस्‍ने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । वार्ता अघि नबढेपछि आन्दोलनरत पक्ष प्रदर्शन व्यवस्थित गर्न माइतीघरतर्फ गएको छ ।

हिजो बिहान र साँझ पनि दुई चरणमा मन्त्रीहरुसँग छलफल भएको थियो । हिजो विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्नुभएको थियो ।

साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोली र शिक्षक प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

हिजोको वार्तामा शिक्षकका सबै मागको विषयमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताउनुभयो । कानून मन्त्री गुरुङले महाङ्घसँगको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो ।

हिजो साँझ भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले सरकारले औपचारिक रुपमा पत्र पठाएर आफूहरुलाई वार्तामा नबोलाएकाले सो छलफललाई औपचारिक मान्न नमिल्ने बताएका थिए ।

आज हुने सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री महत, कानुनमन्त्री गुरुङ, शिक्षामन्त्री राई, सञ्चारमन्त्री शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु हुनुहुन्छ ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विद्यालय सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । यसबाट देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

https://ujyaalonepalnews.com/archives/31566

Previous articleबाँकेको बालसुधार गृहमा झडप: एकजनाको मृत्यु, १० घाइते, चार जनाको अवस्था गम्भीर
Next articleआगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।