जनतामा सुशासनको प्रत्याभूति अपरिहार्य: उपप्रधानमन्त्री श्रेष्ठ

महोत्तरी- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनतामा सुशासनको प्रत्याभूति गराउनु सरकार र गृहप्रशासनको पहिलो दायित्व रहेको बताउनुभएको छ ।

महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयले आयोजना गरेको समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेशस्तरीय अन्तक्रियामा गृह प्रशासन मातहतका अधिकारीलाई निर्देशन दिनुहुँदै आमसुरक्षा व्यवस्था खलबलिन नदिन चनाखो रहनुपर्ने उल्लेख गर्नुभयो ।

“पछिल्लो कालमा नेपाली समाजको विविधतामा एकता देखिने मौलिक पहिचानमा खलल पुर्‍याउने दुश्चेष्टा ठाउँठाउँमा देखिएका छन् । यसलाई प्रेम र सद्भावको डोरीमा नचुँडिने गरी गाँस्न जरुरी छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

मुलुकका विभिन्न भेग र मधेसमै पनि सामाजिक एकता, सद्भाव र सहिष्णुता तोड्ने मनसायले जालीझेलीहरुको प्रयत्न देखिएको र त्यसलाई नेपाली नेपालीबीचको एकताले निस्तेज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

मुलुकका सामू भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक एकताको जगमा राष्ट्रिय एकता र संविधानको रक्षा गर्दै यसलाई अझ उन्नत बनाउन पर्ने कार्यभार रहेको श्रेष्ठले बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि सामाजिक न्याय र आर्थिक समृद्धिको पाटोमा धेरै काम गर्न बाँकी रहेको हुँदा यस क्षेत्रका जनअपेक्षा पूरा गर्न सरकार दृढताका साथ अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।

“केही तत्व अहिले सामाजिक र धार्मिक सद्भाव बिथोल्दै त्यसभित्र खेल्न उद्यत देखिन्छन्”, श्रेष्ठले भन्नुभयो, “वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको यो प्रयत्न सम्पूर्ण लोकतान्त्रिक पक्षधर राजनीतिक दल र आमनागरिक समाजले एकताबद्ध भएर सामाजिक र धार्मिक सद्भाव अक्षुष्ण राख्नुपर्छ ।” सरकार यस दिशामा सचेततापूर्वक अघि बढेको उहाँको भनाइ छ ।

चाडबाडका बेला हुनसक्ने आपराधिक घटना, उपभोग्य सामानमा हुनसक्ने अस्वभाविक मूल्यवृद्धि, चोरी तथा जनधनको सुरक्षामा सबैको चासो मुखरित गर्न पनि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सबै किसिमका विभेदको अन्त्य, जोखिम न्यूनीकरण, प्रकोप पीडितको प्रभावकारी उद्धार एवं राहत, लागुऔषधको नियन्त्रण जस्ता प्राथमिकतामा परिणाममुखी काम गरिनुपर्ने सम्बद्ध अधिकारीहरुलाई सुझाव दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो सुनिएकोतर्फ सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभयो । अब जिल्ला प्रहरी कार्यालयमा महिला सेल भएजस्तै दलित सेलसमेत स्थापना गर्न निर्देशन दिइसकिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका मधेस प्रदेशका प्रमुखका धारणा उपप्रधानमन्त्री श्रेष्ठले सुन्नुभयो ।

सो अवसरमा मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अन्य मन्त्रीहरु, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसहितका उच्च अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका विशिष्ट अधिकारीको सहभागिता थियो ।

https://ujyaalonepalnews.com/archives/31963

Previous articleग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै सकाउन दैनिक २१ घण्टासम्म काम
Next articleबागमती प्रदेश सभामा रहेको एम्बुलेन्सले सर्वसाधारणका लागि समेत सेवा प्रवाह गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।