धार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियता

0
58

चितवन- धार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय चितवन सक्रिय भएको छ । जिल्लामा धार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालयले विभिन्न सामाजिक व्यक्तित्वहरु तथा धार्मिक अगुवाहरुसंग छलफल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमा बुधबार भएको छलफलमा जिल्लामा धार्मिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरु एक मत भएका छन् । धार्मिक गुरु तथा सामाजिक व्यक्तित्वसँगको बैठकमा बोल्ने सहभागीहरुले धार्मिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग गर्ने बताएका छन् ।

नेपालगञ्ज लगायत देशका विभिन्न स्थानमा धार्मिक सद्भाव खलबलिने गरी हिंसात्मक घटना भएपछि चितवनमा धार्मिक अगुवाहरुसँग छलफल भएको हो ।

यहाँका धार्मिक अगुवाहरुले धार्मिक सद्भावको पक्षमा उभिएर देशभर सकरात्मक सन्देश दिएका छन् । कुनै पनि धर्मले अशान्ति नचाहने भन्दै उनीहरुले विभिन्न तत्वहरुका कारण हिंसाका घटना भएको बताएका छन् । विभिन्न धर्म मान्ने धर्मावलम्बी बीच घुसपैठ गर्ने काम भइरहेको भन्दै उनीहरुले यसतर्फ सबै सचेत हुनुपर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एउटा धर्म मान्नेले अर्को धर्म मान्नेको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले हरेकले हरेकको अस्तित्वलाई स्वीकार गर्नुपर्ने भन्दै धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न धार्मिक अगुवाहरुले जनाएको प्रतिबद्धताले देशभर सकरात्मक सन्देश प्रवाह हुने उनले बताउनुभयो । निकट भविष्यमा सद्भाव र्‍याली आयोजना गरिने पनि जनाइएको छ ।

https://www.ujyaalonepalnews.com/archives/31973

Previous articleमिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
Next articleबझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प