नेपालगञ्जमा जारी कर्फ्यु आंशिक रुपमा हटाइयो

बाँके- तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गरी बिहान ८ देखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर दुई समुदायबीच उत्पन्न तनाव मत्थर हुँदै गएसँगै नेपालगञ्जको अवस्था सामान्य हुँदै गएको छ । हिजो बसेको सर्वपक्षीय बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको थियो ।

स्थानीय प्रशासनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तीको संरक्षण, सामाजिक सद्‍भाव कायम गर्न र मानवअधिकारको सम्मान गर्न सबैमा अपिल पनि गरेको छ ।

https://ujyaalonepalnews.com/archives/31976

Previous articleधार्मिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियता
Next articleबझाङ भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।